भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म एक भन्दा बढीको मृत्यु भएको छ। विपद्मा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन्।

सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेपछिको उपत्यकामा ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा शनिबार मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बाढी पहिरोमा परी ललितपुरमा १८, धादिङमा १५, काठमाडौँमा २५, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उनले बताए।

शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको तिवारीले जानकारी दिए। उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन्।