नवलपरासीको दाउन्नेमा भासिएको सडक मर्मत गरेर सञ्चालन भएपनि फेरि अवरुद्ध भएको छ। पश्चिम नवलपरासीको बर्दघाट–४ खुर्सानी खोला नजिकै सडक फेरि भासिएपछि अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार शुक्रबार बेलुका सडक भासिएको थियो। त्यसपछि मर्मत गरेर मध्यरातमा केही घण्टा सडक सञ्चालन भए पनि आज शनिबार बिहान फेरि सडक दुईतर्फी बन्द भएको छ।

राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने/जाने गाडी र यात्रु रोकिएका छन्। बोहराका अनुसार करिब २० फिट लम्बाइ र ५ फिट सडक भासिएको र अहले सडक मर्मत भइरहेको बताए।