बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदैछ ।
बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ । तर उत्तम साइत खोज्नेहरुका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ११ बजेर ३६ मिनेट तोकिदिएको छ ।
विजयादशमी आफैमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।
‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,’ उनले भने।
परम्परा अनुसार पूर्वपश्चिम टीकाको साइत हो । पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्चिम फर्केर लगाइदिने गरिन्छ । सामान्यतयाः पूर्वपश्चिम नै हाम्रो पुरानो परम्परा हो ।
दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दक्षिण फर्किने चलन छैन । कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने र थाप्ने दिशा तय गर्छन् । तर त्यति विस्तृत रुपमा जाने चलन छैन ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य डा. बासुदेव कोइरालाले टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किने र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने बताए ।
दुर्गा विसर्जन गरेपछि टीकाको क्रम शुरु हुन्छ । सुरुमा कुलदेवता, पितृदेवतालाई टीका चढाउने गरिन्छ । कतिपय ठाउँमा घरको मूल ढोकामाथि टीका लगाइदिने भन्ने परम्परा छ । त्यसपछि मान्यजनबाट टीका लगाइन्छ ।
दुर्गा विसर्जनपछि कलशको जल अत्यन्त पवित्र हुन्छ भन्ने धार्मिक मान्यता छ । कलशमा राखेको जल लिएर तयारीका साथ इष्टदेवता, कुलदेवतालाई सम्झेर जमरा काटिन्छ । दैलामाथि टीका लगाउने गरिन्छ । हाम्रो घरपरिवारमा गुरुपुरोहित स्थापना गरेको भए गुरुपुरोहितबाट, नभए मान्यजनको हातबाट टीकाजमरा लगाउने चलन छ । त्यसपछि मात्र अन्य मान्यजनबाट टीका लगाउने चलन छ ।
आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।
विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ ।
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ ।
यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ। महिलालाई भने दुर्गा देवीको स्वरुप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ।
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।।
जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा यी नाम गरेकी देवी तपाइँलाई धेरै धेरै नमस्कार छ। यिनै मन्त्रले आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद थाप्न हिंड्ने मानिसको बाटामा भीड लाग्छ । नेपालका केही भागमा भने कुल, परम्परा अनुसार आजमात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ। अधिकांश स्थानमा भने कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ।
