काठमाडौँ उपत्यकामा सवारी नियम उल्लंघन भएमा ट्राफिक प्रहरीले गाडी चालकलाई आजदेखि डिजिटल चिट दिने भएको छ। यसअघि कागजको चिट काटेपछि भुक्तानीका लागि अरू प्रक्रियामा जानुपर्ने अवस्था रहेकोमा अब ट्राफिक प्रहरीले डिजिटल चिट दिने र जरीमाना अनलाइनमार्फत त्यहीँ भुक्तानी गर्न सक्ने व्यवस्था भएको हो ।
नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था गरिएसँगै जरीमाना तिर्दा हुँदै आएको झन्झट अन्त्य हुने प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो।
प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउन नयाँ व्यवस्था सुरु गरिएको जानकारी दिएका छन्। ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने, नागरिक एप मार्फत मोबाइलमा लाइसेन्स उपलब्ध गराइने उनले उल्लेख गरेका छन्।
लाइसेन्स छपाइ नहुँदा परेको समस्या यसले अन्त्य गर्नेछ । यस्तै नागरिक एप चलाउनेले अबदेखि लाइसेन्स बोक्नुपर्ने छैन। नागरिक एपमा रहने चालक अनुमतिपत्रमा ‘क्यूआर कोड’ देखाउने व्यवस्था गरिएको छ।
ट्राफिक प्रहरीले ‘इचलान डिजिटल’ एपमार्फत सडक नियम उल्लङ्घन गर्ने चालकको मोबाइलमा देखिने ‘क्यूआर कोड’ ‘स्क्यान’ गरेर कारबाहीको विवरण प्रविष्ट गर्नेछन्। लगत्तै नागरिक एपमा ट्राफिक नियम उल्लङ्घन कोलममा कसूर र जरीमाना रकमसहितको ‘डिजिटल चिट’ को विवरण र जरीमाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था छ।
यसबाट चालकले तत्कालै ‘डिजिटल वालेट’ मार्फत जरीमाना रकम भुक्तानी गर्न सक्नेछन्। प्रहरी नायब महानिरीक्षक बोहराका अनुसार पहिलो चरणमा काठमाण्डाै, भक्तपुर र ललितपुर जिल्लामा ‘डिजिटल चिट’ व्यवस्था कार्यान्वयनमा ल्याइनेछ। ‘डिजिटल चिट’ काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै ‘डिभाइस’ उपलब्ध गराइएको छ।
