नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तीन महिनाको वित्तिय विवरण सार्वजनिक भएको छ। नबिल बैंक २० वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नाफा कमाउने बैंक बन्न सफल भएको हो।

बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब ४६ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै, बैंकको खुद ब्याज आम्दानी घटे पनि इम्पेरमेन्ट चार्ज रिभर्स भएको हुँदा नाफामा वृद्धि देखिएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८१ प्रतिशत घटेको छ भने बैंकको सञ्चालन आम्दानी ३६.०९ प्रतिशतले बढेर दुई अर्ब ८९ करोड ३४ लाख रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको ४५ करोड ७७ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ९८ करोड १२ लाख रुपैयाँ रहेको छ । २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकले साे अवधिसम्ममा चार खर्ब ७९ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ८१ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ५२ पैसा बढेर २९ रुपैयाँ ८३ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २२९ रुपैयाँ ४८ पैसा छ।