आयुर्वेद चिकित्साशास्त्रका प्रवर्तक भगवान् धन्वन्तरीको अवतार जयन्ती। आयुर्वेदसँग सम्बन्धित विभिन्न संस्थाहरुले बुधबार देशभर विभिन्न कार्यक्रमसहित राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाउने भएका छन् ।
हरेक वर्ष कात्तिक त्रयोदशीका दिन आयुर्वेदका प्रणेता भगवान् धन्वन्तरीको उत्पत्ति भएको दिनको सम्झनामा यो दिवस यस वर्ष ‘स्वस्थ्य जीवनशैलीमा सात्विक आहार, नागरिक आरोग्यताको मजबुत आधार’ भन्ने नाराका साथ मनाउन लागिएको हो ।
सत्य युगमा समुद्र मन्थन गर्दा अमृतको घडासहित कात्तिक कृष्णपक्ष त्रयोदशीका दिन भगवान् धन्वन्तरीको प्रकट भएको थियो। धन्वन्तरीलाई भगवान् विष्णुका २४ वटा अवतारमध्ये एक अवतार मानिन्छ।
आयुर्वेदको ज्ञान सर्वप्रथम आत्रेय ऋषिले लिएको कथन रहेको छ। एक लाख श्लोक र एक हजार अध्याय भएको ब्रह्मसंहिताको ज्ञान आत्रेय ऋषिले लिएका थिए। यही संहितालाई पछि आठ भागमा विभाजन गरियो, जसलाई अष्टाङ्ग आयुर्वेद भनिन्छ।
भगवान् धन्वन्तरीको जन्मजयन्तीको अवसरमा काठमाडौंको वैद्यखानामा धन्वन्तरी भगवान्को विशेष पूजाआजा गर्ने गरिन्छ।
२०५६ सालमा पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्यमन्त्री हुँदा आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा नेपालमा धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाउने निर्णय भएको थियो। त्यसपछि नियमितरूपमा यो दिवस मनाइँदै आइएको छ।
