आईसीसी महिला यू-१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली यू-१९ टोलीका महिला क्रिकेट टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँका दरले पुरस्कारसहित सम्मान गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीलाई बधाइ दिँदै पुरस्कार दिने घोषणा गरेको हो।

आज बसेको क्यानको बैठकले खेलाडीलाई साढे दुई लाख र अफिसियलहरूलाई एक लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो। एसिया छनोटमा बुधबार यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलाे पटक टी–२० विश्वकपमा छनाेट भएकाे थियाे ।

नेपालले आगामी जनावरी-फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा समूह ‘डी’ मा प्रतिस्पर्धा गर्नेछ। समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। विश्वकपमा चार समूहका १६ टोली समूह चरणमा भिड्नेछन्। समूहका शीर्ष दुई टोली अन्तिम आठमा पुग्नेछन्। 

विश्वकपमा छनोट भएसँगै नेपाली यू-१९ टोलीले एसिया कप समेत खेल्ने भएको छ। विश्वकपअघि हुने एसिया कप मलेसियामै हुनेछ। मलेसियामा यू-१९ एसिया कप १५ देखि २२ डिसेम्बरसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको समूह ‘बी’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने खेल तालिका समेत पक्का भइसकेको छ। 

यू-१९ महिला एसिया कप एसिसीले पहिलो पटक सञ्चालन गर्न लागेको हो। प्रतियोगितामा समूह ‘बी’ मा नेपाल, भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दा समूह ‘ए’ मा श्रीलंका, मलेसिया र बंगलादेशले भिड्नेछन्।

विश्वकपअघि एसिया कपमा प्रतिस्पर्धा गर्दा नेपाली टोलीलाई राम्रो अनुभव हुनेछ। अझ मलेसियामै एसिया कप हुँदा नेपाललाई मैदानको समेत ज्ञान हुँदा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न सहयोग मिल्नेछ।