नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिष्पर्धा गर्ने बताएका छन्। आज (सोमबार) काठमाडौँमा नेपाली कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौँ महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचन एक्लै लड्ने र बहुमत ल्याउने दाबी समेत गरे।
उनले अहिलेको अभियान ०८४ कै तयारीको प्रारम्भ भएको उल्लेख गरे। उनले आफूले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्न कांग्रेस अघि सर्नुपर्ने र कमी कमजोरीको पनि आफूले जस/अपजस लिनुपर्ने उल्लेख गरे।
उनले गत निर्वाचनमा आस्था गुमाएर अर्को दलको चुनाव चिन्हमा मत हाल्नुपरेको बताए। नेता तथा कार्यकर्ताको उक्त गुनासो अहिले पनि बाँकी नै रहेको बताउँदै उनले पार्टीले आगामी निर्वाचन एक्लै लड्ने तयारी थालिसकेको बताएका छन्। कांग्रेसले बहुमत ल्याउनेगरी आगामी निर्वाचन एक्लै लड्ने उनको भनाइ छ।
‘हामी आगामी चुनाव एक्लै फेस गर्दछौँ, एक्लै जान्छौँ चुनावमा,’ सिटौलाले भने, ‘एक्लै फेस गरेर जाँदा पनि हार्ने गरी होइन, बहुमत ल्याउने गरी जाने हो। त्यसको तयारीको प्रारम्भ हो यो अहिलेको अभियान।’
उनले राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि गरेका संघर्षहरु जनतामाझ पुर्याउनुपर्ने बताए। जनताका अधिकार पूरा कार्यान्वयन गर्न धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो।
