सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबामा निर्माण भइरहेको सुरुङमार्ग आज ब्रेक थ्रु अर्थात् छिचोलिने भएकाे छ । प्रधानमन्त्री ओलीले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्डमा पर्ने सिद्धबाबामा निर्माणाधीन सुरुङ मार्ग‘ब्रेक थ्रु’ गर्नेछन्।

एक हजार एक सय २६ मिटर लामो र साढे १० मिटर चौडाई रहेको सुरुङमार्गका लागि मुख्य टनेल खनेर झण्डै साढे एक मिटर मात्रै बाँकी राखिएको छ । बाँकी भाग आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूजा गरेपछि छिचोलिने बताइएको छ। उद्धार सुरुङका रूपमा चिनिएका तीन वटै बाइपास सुरुङ यसअघि नै छिचोलिएका छन्।

यसअघि गएको मङ्गलवार नै सुरुङ छिचोल्ने गरी तयारी भएकोमा प्रधानमन्त्रीको व्यस्तताका कारण आजका लागि ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम सारिएको हो। कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित अरु मन्त्री र सांसदहरु पनि सहभागी हुनेछन् ।

पाल्पाको तिनाउ गाउँपालिका– ३ दोभान क्षेत्रमा यो सुरुङ छिचोल्ने काम सकिए पनि अरू थुप्रै काम बाँकी रहने हुनाले यो ठेक्काको म्याद २०८३ सालको चैत्र ८ गतेसम्म रहेको आयोजनाका प्रमुख कृष्णराज अधिकारीले बताए। सात अर्ब ३४ करोड रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले सिद्धबाबा सुरुङमार्गको ठेक्का पाएको थियो। अहिलेसम्म सुरुङमार्गको भौतिक प्रगति झण्डै ४० प्रतिशत रहेको छ । अबको दुई वर्षपछि गाडी सञ्चालन गर्नेगरी काम भइरहेको उनले बताएकाछन्।

सिद्धबाबा सुरुङमार्गले पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङ्जा, पोखरा,  बाग्लुङलगायतका क्षेत्रमा आउजाउ गर्ने गाडीलाई राहत मिल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *