युरोपेली देश सर्बियाको संसदमा मंगलबार विपक्षी सांसदहरूले धुवाँयुक्त ग्रेनेड प्रहार गरेका छन्। सरकारको नीतिको विरोधमा र आन्दोलनरत विद्यार्थीहरूको समर्थनमा विपक्षीहरूले यो प्रदर्शन गरेका हुन्।
सर्बियाली प्रोग्रेसिभ पार्टीको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले अधिवेशनको एजेन्डा अनुमोदन गर्ने बित्तिकै केही विपक्षी नेता आफ्नो सिटबाट उठेर सभामुखको कुर्सीतिर दौडेका थिए।
उनीहरुले सदनमा धुवाँ ग्रेनेड फ्याँके, जसले गर्दा सदन कालो धुवाँले भरियो। यस क्रममा सुरक्षा गार्डहरूसँग झडपको स्थिति समेत आएको र झडपमा परि कम्तीमा ३ जना सांसद घाइते भएका जसमध्ये एक सांसदको अवस्था गम्भीर रहेको बीबीसी समाचारमा उल्लेख छ।
यति हुँदा पनि सभामुख आना ब्रनाबिकले संसदले आफ्नो काम जारी राख्ने बताइन्। संसदमा मंगलबार देशका विश्वविद्यालयहरूको लागि कोष बढाउने कानून पारित गर्ने तय भएको थियो।
यससँगै प्रधानमन्त्री मिलोस भुसेभिकको राजीनामाको बारेमा पनि छलफल हुने तय भएको थियो। तर सत्तारुढ गठबन्धनले प्रस्तुत गरेको एजेन्डामा रहेका अन्य मुद्दाहरूप्रति विपक्षीहरू आक्रोशित भएपछि यो हंगामा भएको थियो।
