संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा बर्दियाको ठाकुरबाबा नगरपालिका देशभरकै उत्कृष्ट नगरपालिका घोषित भएर सम्मान पत्र प्राप्त गरेको छ। नेपाल नगरपालिका महासङ्घको बिहीबार आयोजित ३२ औँ स्थापना दिवसका अवसरमा संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा ठाकुरबाबा नगरपालिका नेपालकै उत्कृष्ट नगरपालिका घोषित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ३२ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल र उपमेयर विनाकुमारी भट्टराईलाई सम्मान पत्र प्रदान गर्नुभएको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले बताउनुभयो। नेपाल नगरपालिका महासंघको ३२ औं स्थापना दिवसका अवसरमा नेपाल नगरपालिका संघले ५ विधामा उत्कृष्ट काम गर्ने ६ वटा नगरपालिकालाई सम्मान गरेको हो।
देशभरकै उत्कृष्ट कार्य गरेबापत बर्दियाको ठाकुरबाबा नगरपालिकालाई संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई सहरी योजना, पूर्वाधार तथा विपद् व्यवस्थापनका लागि र कलैया उप-महानगरपालिकालाई सामाजिक विकासमा पुरस्कृत गरिएको हो। यस्तै वातावरण संस्कृति पर्यटन प्रवर्द्धनमा मध्यपुर थिमी नगरपालिकालाई, आर्थिक विकासमा नवलपरासीको गैँडाकोट नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिकालाई उत्कृष्ट पुरस्कार दिइएको हो ।
नेपाल नगरपालिका संघका केन्द्रीय अध्यक्ष भीम ढुङ्गानाले दोसल्ला ओढाएर तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान पत्र प्रदान गर्नुभएको हो। संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनमा नेपालकै उत्कृष्ट हुनु सम्पूर्ण ठाकुरबाबा नगरपालिकाबासीका लागि गर्वको कुरा रहेको मेयर लम्सालले बताउनुभयो।
आफु निर्वाचित भएदेखि नै संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनमा राम्रो गर्दै आएको प्रतिफल अहिले पाएको र थप हौसला मिलेको बताउँदै मेयर लम्सालले नगरपालिकालाई यहाँसम्म पुर्याउन अहोरात्र खटिने सम्पुर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु र सधैँ सकारात्मक उर्जासहितको सुझाव, सल्लाह प्रदान गर्नुहुने सम्पुर्ण नगरबासीहरुमा धन्यवाद व्यक्त गर्दै सम्मानका लागि नेपाल नगरपालिका संघलाई समेत उहाँले आभार प्रकट गर्नुभयो।
ठाकुरबाबा नगरपालिका देशकै उत्कृष्ट नगरपालिका भएर सम्मानित हुन पाउँदा खुशी लागेको उपमेयर भट्टराईले बताउनुभयो। यसअघि संस्थागत स्वमूल्याङ्कन मा ९५.७५ अंक प्राप्तसहित पहिलो, वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पनि पहिलो र कार्यसम्पादन मूल्यांकनमा तेस्रो स्थानमा रहेको उहाँले बताउनुभयो।
प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा नेपाल नगरपालिका संघको ३२ औँ दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादनका आधारमा देशभरका ६ वटा नगरपालिकालाई पुरस्कृत गरिएको हो। नेपाल नगरपालिका संघले संविधानका जानकार काशीराज दाहालको अध्यक्षतामा समिति बनाएर देशभरका नगरपालिकाको कामको मूल्याङ्कन गरिएको थियो।
