भारतमा जारी साफ यु-१९ च्याम्पियनसिपमा आइतबार श्रीलंकालाई ५–० ले पराजित गर्दै नेपाल एक खेल अगावै सेमिफाइनल यात्रा तय गरेको छ।

नेपालसँगै समूह ‘बी’ बाट भारत पनि अन्तिम चारमा पुगेको छ। अब समूहको शीर्ष स्थानका लागि नेपाल र भारत भिड्ने छन्। दुवै टिम समान तीन–तीन अंकमा छन्। श्रीलंका भने लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालका लागि सुजन डंगोल, धर्वेन्द्र कुँवर र सुवास बम, विज्ञान खड्का र लक्षु थापाले १–१ गोल गरे । इन्ज्युरी समयको चौथो मिनेटमा राम थापाको लामो क्रसमा सुजन डंगोलले बक्सभित्रबाट उत्कृष्ट गोल गरे।

दोस्रो हाफमा नेपालले थप ४ गोल गर्यो। सुभाश बमको क्रसमा डिफेन्डरहरूले क्लियर गर्न नसकेको बलमा धर्मेन्द्र कुँवरले बक्सभित्रबाट ६१ औं मिनेटमा दोस्रो गोल गरी नेपालको अग्रता दोब्बर बनाए।

खेलको ७७ औं मिनेटमा सुवास आफैंले बक्सभित्र बललाई उत्कृष्ट शैलीमा कन्ट्रोल गर्दै हानेको लेफ्ट फुटेट सटले सही दिशा लियो। यो गोलमा पनि श्रीलंकाको डिफेन्स कमजोर रहयो।

९० औं मिनेटमा सुजनको क्रसमा सब्स्टिच्युट विज्ञान खड्काले गोल गरे। नेपाल यतिमा मात्र रोकिएन। इन्ज्युरी समयको चौथो मिनेटमा लक्षु थापाले करिब २५ यार्ड टाढाबाट हानेको फ्रि-किक प्रहार सिधै गोलमा परिणत भयो।

यसै समूहको पहिलो खेलमा भारतले श्रीलंकामाथि ८–० को ठूलो अन्तरको जित निकालेको थियो।

यसअघि समूह ‘ए’ बाट बंगलादेश सेमिफाइनल पुगेको छ। उसले आइतबारको पहिलो खेलमा भुटानलाई ३–० ले पराजित गरेको थियो। जितसँगै बंगलादेशको दुई खेलबाट चार अंक भएको छ। आफ्नो पहिलो खेलमा बंगलादेशले माल्दिभ्ससँग २–२ को बराबरी खेलेको थियो।

अब यो समूहको लिग चरणको अन्तिम लिग खेलमा माल्दिभ्स र भुटान भिड्ने छन्। त्यसमा माल्दिभ्सलाई सेमिफाइनल पुग्न बराबरी नै पर्याप्त रहनेछ भने भुटानलाई निश्चित जित आवश्यक पर्नेछ। बंगलादेशको जितमा भने मोहमद मर्सेद अलि, सुमाने सोरेन र नजमुल हुडाले गोल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *