इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुलले विजयी सुरुवात गरेको छ। गएराति एनफिल्डमा भएको खेलमा बर्नमाउथलाई ४–२ गोलले हराउँदै लिभरपुलले सुखद सुरुवात गरेको हो।

लिभरपुलका लागि ह्युगो एकिटिके, कोडी गाक्पो, फेडेरिको चिएसा र मोहम्मद सलाहले गोल गरेका थिए। बर्नमाउथका एन्टोइन सेमेन्होले २ गोल फर्काए।

खेलको ३७औँ मिनेटमा लिभरपुलका ह्युगोले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा बोर्नमाउथका फरवार्ड एन्टोइन सेमेन्योले दर्धकको भीडबाट कसैले आफूलाई जातीय रुपमा दुर्व्यवहार गरेको भन्दै रेफ्री एन्टोनी टेलरसँग उजुरी गरेपछि खेल केहीबेर रोकिएको थियो।

दोस्रो हाफ सुरु  भएको ४ मिनेटमै एकीटिकेको पासमा कोडी गाक्पोले गोल गरेपछि लिभरपुल सहज जिततर्फ अघि बढिरहेको जस्तो देखिन्थ्यो ।

यस्तै, ६४औँ र ७६औँ मिनेटमा बर्नमाउथका सेमेन्होले गोल फर्काउँदै खेललाई २–२ गोलको बराबरीमा ल्याएर लिभरपुललाई‌ दबाबमा पारे। त्यसपछि लिभरपुलका फेडेरिकोले ८८औँ मिनेट र सलाहले इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै टोलीलाई ४–२ गोलको जित दिलाए।

यो जितसँगै लिभरपुलले नयाँ सिजनमा पहिलो खेलबाट ३ अंक जोडेको छ । बर्नमाउथले हारबाट सिजनको सुरुवात गरेको छ।