काठमाडौँ चक्रपथ क्षेत्रभित्र अहिले बिहान साढे आठ बजेदेखि कर्फ्यु लगाइएको छ। मंगलबार बिहान ५ बजे सकिएको कर्फ्यूको समय बिहान ८:३० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्म बढाएको हो।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको सूचनामा काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बाग्मती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भागमा कर्फ्यू लाग्ने उल्लेख छ।
निषेधाज्ञा अवधिभर पनि अत्यावश्यक सेवाका गाडीहरु चल्न पाउनेछन् । एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, पर्यटकका गाडी, मानव अधिकार तथा कूटनीतिक नियोगका गाडी, हवाई टिकट देखाएर जाने यात्रुहरू लाई गन्तव्यमा जाने दिने सूचनामा भनिएको छ। साथै नागरिकहरूलाई कर्फ्युको पालना गर्न अनुरोध गरिएको छ।
यसअघि शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगञ्ज क्षेत्र, हरितगृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र, सिंहदरबार क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र र संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा बिहान ५ बजेसम्म कर्फ्यू जारी थियो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
