सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीनजना मन्त्रीको नाम टुङ्गो लागेको छ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो।

अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन्। घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ।

अर्थमन्त्री बन्न लागेका खनाल पूर्वसचिव हुन्। पछिल्लो समय उनी उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रूपमा सक्रिय थिए।

कानुन व्यवसायी अर्याल सामाजिक आन्दोलन र विभिन्न रिट निवेदनका कारण चर्चामा आएका थिए। हालै उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का कानुनी सल्लाहकारका रूपमा पनि काम गरेका थिए।

घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हुन्। उनी केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा बर्खास्तीमा परेका थिए।

उनीहरूको शपथ ग्रहण आजलाई तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *