बाँकेको राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण गर्ने भएको छ । क्षयरोग उपचार केन्द्रको भवन निर्माणको लागि वडा कार्यालय र ढकेरीस्थित गणेश माध्यमिक विद्यालयले उपभोग तथा संरक्षण गर्दै आएको करिब दुई विगाह जमिन उपलब्ध गराएपछि भवन निर्माणका लागी लुम्बिनी प्रदेश सहरी विकास मन्त्रालयले रु ९ करोड २४ लाखको बोलपत्र आह्वान गरी सम्झौता प्रकृया अगाडी बढेको छ।

भवन निर्माणको शिलान्यास गर्ने तयारी यही चैत्र ३ गते तयारी भएको टीबी नेपाल क्षयरोग प्रेषण केन्द्र नेपालगञ्जका प्रबन्धक हिक्मतबहादुर खड्काले बताउनुभयो ।

सरकारले गैरसरकारी संस्था टिबी नेपालसँग सहकार्य गर्दै २०५२ सालदेखि नेपालगञ्जमा भाडाको घरमा ४५ शैया क्षयरोग अस्पताल सञ्चालन गर्दै आएको छ । जग्गा नहुँदा यसअघि क्षयरोग अस्पताल निर्माणको लागि सरकारले छुट्याएर प्राप्त हुने बजेट पटक–पटक फिर्ता भैरेको थियो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई लक्षित गरी क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रका रुपमा यो अस्पताल सञ्चालन हुने भएको छ ।

क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माणको लागि सङ्घीय सरकारले प्रदेश सरकार स्वास्थ्य मन्त्रालयमा यो वर्ष रु २ करोड बजेट पठाएको छ । उक्त बजेटबाट निर्माण कार्य सुरु हुन थालेको खड्काको भनाइ छ । भवन २५ शैयाको क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन गरिनुका साथै बिरामीको लागि आवासीय छात्रावासको समेत व्यवस्था गर्ने भनिएको छ । विस्तारै स्तरोन्नति गर्दै लैजाने योजना रहेको खड्काले बताउनुभयो ।

क्षयरोगका बिरामीको निःशुल्क उपचार गर्ने सरकारी नीति छ । तर विरामीलाइ राखी उपचार गर्ने भवन छैन, टि बी परीक्षणका लागी चाहिने उपकरण छन् उपकरण राख्ने कोठा छैन । प्रेषण केन्दमा ३० देखि ४० बिरामी नियमित रुपमा उपचार गर्नुका साथै वार्षिक करिब ३५ हजारभन्दा बढी मानिस क्षयरोगको परीक्षण गर्न आउँछन् ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा क्षयरोग सङ्क्रमण र यसबाट हुने मृत्युदर घटेको छैन । नियमित औषधि सेवन गरे छ महिनामै निको हुने क्षयरोगका अधिकांश बिरामी उपचारको दायरामै नपुग्दा नेपाललाई क्षयरोगमुक्त गराउने कार्यमा चुनौती थपिएको बताउनुभयो ।