आज ४५ औँ विश्व खाद्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नाराका साथ विश्व खाद्य दिवस मनाउन लागिएको हो।

विभागले प्रत्येक वर्ष अक्टोबर १६ मा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने गरेको छ। सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको २०औं साधारणसभाले सङ्गठनको स्थापना भएको दिनका अवसरमा खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेको स्मरणमा सन् १९८१ देखि यो दिवस मनाउँदै आइएको छ।

संयुक्त राष्ट्रसंघको तथ्याङ्कअनुसार हाल विश्वमा झन्डै ७० करोडभन्दा बढी मानिसले नियमितरुपमा पर्याप्त खाना पाइरहेका छैनन्। बालबालिका र गर्भवती महिलामा कुपोषण अझ गम्भीर समस्या बनेको छ। अहिले नाइजेरिया, सुडान, कङ्गो, सिरिया, यमन, इथियोपिया, म्यानमार, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तानजस्ता देशहरु तीव्र भोकमरीको अवस्था रहेको छ।

नेपालजस्ता विकासशील देशमा पनि खाद्य सुरक्षाको अवस्था चुनौतीपूर्ण रहँदै आएको छ। पहाडी र हिमाली क्षेत्रका धेरै गाउँमा अझै पनि वर्षभरिका लागि अन्न पुग्दैन। कतिपय परिवारहरु आयस्रोतको अभाव, जमिनको असमान स्वामित्व र कृषि उत्पादनमा निर्भरता घट्दै जानुका कारण भोकमरीको जोखिममा छन्।

यस्तै, सहर क्षेत्रमा अत्यधिक प्रशोधित र पोषणहीन खाना खाने प्रवृत्तिले स्वास्थ्यमा समस्या बढाएको छ। खाद्य समस्या अभाव मात्र नभएर गुणस्तर र सन्तुलनसँग पनि जोडिएको हुन्छ। सरकारले कृषि उत्पादन वृद्धिका लागि नीति र योजना बनाए पनि कार्यान्वयनमा अझै सुधार आवश्यक देखिएको छ। किसानलाई उत्पादनका लागि आवश्यक मल, बीउ, सिंचाइ र बजारको सुनिश्चितताबिना खाद्य आत्मनिर्भरता सम्भव देखिँदैन।