नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ। बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा केही बेर अगाडि सुरु भएको हो।

आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा धारणा राख्ने क्रम जारी रहने एमालेले जनाएको छ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजोको बैठकमा ५० जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका छन्। आज करिब १०० जनाले धारणा राख्ने अनुमान गरिएको छ। यही क्रममा सबै केन्द्रीय सदस्यले समय लिएमा बैठक लम्बिने संकेत देखिएको छ।

बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ। तीन मिनेटमा आफ्ना धारणा नटुंग्याए स्वत माइक काटिने प्रबन्ध गरिएको छ। बैठकमा केन्द्रीय सदस्यलाई बोल्नका लागि वर्णानुक्रम अनुसार पालो मिलाइएको छ।

हिजोको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।