प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न आह्वान गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले सूर्यको आराधनाका साथ मनाइने पर्व छठको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा आगामी निर्वाचनमा सहभागी हुन र सफल बनाउन सबैमा आह्वान गर्नुभएको हो।

शुभकामना सन्देशमा भनिएको छ, ‘आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु।’

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व भएको र सबै पक्षले परिस्थितिको संवेदनशीलता र आ–आफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला भएको सन्देशमा उल्लेख छ।

छठसहित हाम्रा चाडपर्वहरू सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक पनि भएको र अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो रहेको उहाँको भनाइ छ।

उहाँले सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन भन्दै आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि भएको बताउनुभयो।