सुदूरपश्चिम रोयल्स लगातारको पाँचौं जितमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गरेको छ।आज भएको खेलमा सुदूरपश्चिमले साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गरेको हो।
जनकपुरले प्रस्तुत गरेको १४६ रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा चार विकेट गुमाएर भेटायो। सुदूरपश्चिमका लागि इशान पाण्डेले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ५६ रन बनाए। त्यस्तै ओपनर विनोद भण्डारीले ४२ रनको शानदार इनिङ खेले। कप्तान दिपेन्द्रसिंह ऐरी १० र हर्मित सिंह २५ रन बनाएर नटआउट रहे। जनकपुरका लागि माज सदाकतले २, सञ्जय कृष्णामुर्ती र आदित्य महताले १–१ विकेट लिए।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको जनकपुरले ८ विकेट गुमाएर १ सय ४५ रन बनायो।जनकपुरका सञ्जय कृष्णमूर्तिले ५० र जेन निकोल लफ्टि इटनले ३९ रन बनाए। जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रिएको जनकपुरले शनिबारको खेलमा अनिल साहलाई विश्राम दिएर वायन पार्नेललाई कप्तान बनाएको थियो। सुदूरपश्चिमका अविनाश बोहराले ४, स्कट कुग्गेलिजनले ३ र दीपेन्दसिंह ऐरीले १ विकेट लिए।
यो जीतसँगै सुदूरपश्चिम ५ खेलमा १० अङ्कसहित शीर्ष स्थानमा छ। लगातार चौथो खेलमा पराजित जनकपुर तालिकाको पुछारमा छ।
