फागुन १२ गते करिब बिहानको १०:३० बजे चितवनको रत्ननगर नगरपालिका वडा नं. १० स्थितमा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा ८ मा १४ वर्षीया छात्रा सालिन पोखरेल सोही बोर्डिङ स्कुलको होस्टेलमा बस्दै आएको कोठाको सिलिङ पङ्खामा डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको थिइन् । उक्त घटनाको अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू हालसम्म प्राप्त भै नसकेका हुँदा अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषय वस्तुहरू सम्प्रेषण नगरी दिन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।

घटनाको सम्बन्धमा जानकारी प्राप्त हुनासाथ तत्काल सिनियर प्रहरी अधिकृतको कमाण्डमा घटनास्थलमा गइ विशेषज्ञ सहितको अनुसन्धान टोलीले घटनास्थल र मृतक शवको सूक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका अनुसन्धानका कार्यहरू सम्पन्न गरिएको  प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी गराएका छन् ।

अहिले सो घटनाको गम्भीर रूपमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए । ‘बालबालिकाको मृत्यु जस्तो संवेदनशील विषयलाई अत्यन्त गम्भीर्यताका साथ लिई प्रचलित कानुनले निर्दिष्ट गरे बमोजिम नेपाल प्रहरीले आफ्नो पेसागत मूल्य मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान भई रहेको र वैज्ञानिक प्रयोग तथा प्राविधिक विश्लेषण समेतको आधारमा तथ्य परक बस्तुनिष्ठ अनुसन्धान गरिने कुरामा पीडित परिवार र सम्पूर्णमा विश्वास समेत दिलाउँदछौँ,’  जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवनको विज्ञप्तिमा भनिएको छ ।

साथै घटनाको तथ्य परक वस्तुनिष्ठ अनुसन्धान कार्य जारी नै रहेको अवस्थामा यसै घटनालाई लिई विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा सम्प्रेषित विषय बस्तु प्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको समेत जनाइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *