नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको समर्थनमा हुन लागेको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।
दोस्रो विशेष महाधिवेशन पक्षधर समूहले आज पत्रकार सम्मेलन गरी आइतबारदेखि सुरु हुने विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। दोस्रो विशेष महाधिवेशनको उद्घाटन भोलि दिउँसो १ बजे हुने बताइएको छ।
विशेष महाधिवेशनलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न मञ्च व्यवस्थापनको काम सम्पन्न गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए।
भृकुटीमण्डपस्थित खुला चौरमा हुने कार्यक्रमको मञ्चमा ५० कुर्सी र मैदानमा ६ हजारभन्दा बढी कुर्सीहरू राखिनुका साथै मञ्च वरिपरि कांग्रेसको झण्डा, ब्यानर तथा प्रचारप्रसार सामग्री राखिएका छन्।

विशेष महाधिवेशनमा आउने तीन हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जानकारी दिए।
महाधिवेशन प्रतिनिधि बस्नका लागि काठमाडौँको सुन्धारा, बागबजार, ठमेल, एयरपोर्ट, सिनामङ्गल र गौशाला क्षेत्रका विभिन्न होटलमा व्यवस्थापन गरिएको उनले बताए।
