चर्चित गायिका तथा पूर्वसांसद कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ। शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै घरको छतमा घाम ताप्ने क्रममा लडेर ८५ वर्षीय वलीको मृत्यु भएको हो।

गायिका वलीले सामाजिक सञ्जालमार्फत बुवाको निधन भएको जानकारी दिएकी छन्। उनका अनुसार पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि तुलसीपुरको बाहिनी गेट नजिक रहेको निजी निवास ‘दिपा–ललित निवास’मा राखिएको छ।

ललितबहादुर वली दाङको साहित्यिक र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा चिनिन्थे। वि.सं. १९९८ मंसिर १५ गते जन्मिएका उनका ‘दर्पण’ (राष्ट्रिय गीत सङ्ग्रह) र ‘मातृभूमि’ (कविता सङ्ग्रह) प्रकाशित कृतिहरू हुन्। उनका सातवटा गीतहरू रेडियो नेपालमा रेकर्ड भएका छन्, जसमा देउसी–भैलो, तीज र भजन समावेश छन्। उनी स्वयं पनि गायक थिए र कोमल वलीका धेरै गीतहरूमा अभिनयसमेत गरेका थिए।

परिवारका अनुसार उनका केही गीतहरू रेकर्ड गर्ने योजना भइरहेकै बेला यो घटना भएको हो।

ललितबहादुर वली विभिन्न सामाजिक तथा साहित्यिक संस्थामा सक्रिय थिए। उनी दाङ ज्येष्ठ नागरिक जिल्ला सङ्घ, दाङ साहित्य प्रतिष्ठान, सङ्गीत नाट्य प्रतिष्ठान र पृथ्वीनारायण शाह प्रतिष्ठान तुलसीपुरसँग आवद्ध थिए। ज्येष्ठ नागरिकहरूको सेवामा योगदान पुर्‍याउँदै आएको सम्मानस्वरूप परिवारले ‘ज्येष्ठ नागरिक प्रतिष्ठान’ स्थापना गरेको छ।

स्वास्थ्यका हिसाबले गम्भीर रोग नभए पनि उमेरका कारण उनी केही कमजोर थिए। केही समयअघि पत्नीको निधनपछि उनी मानसिक रूपमा पनि प्रभावित रहेको पारिवारिक स्रोतले जनाएको छ।