सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम उक्त मस्यौदा प्रकाशन गरिएको हो।
निजामती सेवा श्रेणीगत र तहगत मिश्रित संरचनामा आधारित हुने प्रस्ताव गरिएको छ। जसअन्तर्गत राजपत्राङ्कित विशिष्ट श्रेणीमा अधिकृत चौधौँ र तेह्रौँ तह, राजपत्राङ्कित प्रथम श्रेणीमा अधिकृत बाह्रौँ र एघारौँ, राजपत्राङ्कित द्वितीय श्रेणीमा अधिकृत दशौँ र नवौँ तथा राजपत्राङ्कित तृतीय श्रेणीमा अधिकृतस्तर आठौँ, सातौँ र छैटौँ तह रहनेछन्।
यस्तै राजपत्रअनङ्कित प्रथम श्रेणीमा सहायक पाँचौँ, द्वितीयमा सहायक चौथो र तृतीयमा सहायक तेस्रो तह रहनेछ। निजामती सेवामा नौवटा श्रेणी तथा १४ वटा तह रहनेछन्।
संघीय निजामती सेवाको कुनै कार्यकारी वा विशेषज्ञ पदमा नेपाल सरकारले कार्यक्षमतामा आधारित वा कार्यमूलक प्रयोगात्मक परीक्षण गरी खुला वा छड्के प्रवेशको विशेष व्यवस्था गर्न सक्ने प्रस्ताव गरिएको छ। आरक्षणको सुविधा एक व्यक्तिले राजपत्र अनङ्कित पदमा एकपटक र राजपत्राङ्कित पदमा एकपटकमात्र लिन पाउने व्यवस्था गरिएको छ।
निजामती कर्मचारी ६० वर्षसम्म बहाल रहने व्यवस्था राखिएको छ। कर्मचारीको सुरुवा गर्दा न्यूनतम् र अधिकतम् अवधि तोकिने छ। राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीलाई तीन वर्ष र सहायकस्तरका कर्मचारीको चार वर्ष पूरा नभई अन्तरमन्त्रालय सरुवा हुनेछैन। एउटै कार्यालयको एकै पद र समान जिम्मेवारीमा बढीमा चार वर्षभन्दा कुनै कर्मचारी नरहने विधेयकको मस्यौदामा उल्लेख छ।
संघीय निजामती सेवा वा अन्य सरकारी सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणी वा प्रथम श्रेणीको पदबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले राजीनामा स्वीकृत भएको वा अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक, कूटनीतिक वा अन्य सरकारी पदमा नियुक्ति पाउने छैनन्।
यस्तै लोकसेवा आयोग वा सार्वजनिक निकायबाट पदपूर्तिका लागि लिइने प्रतियोगितात्मक परीक्षाको तयारीका लागि सञ्चालन गरिने प्रशिक्षण कार्यक्रममा कुनै पनि निजामती कर्मचारीले प्रशिक्षण दिन नपाउने व्यवस्था विधेयकमा गरिएको छ।
निजामती सेवामा ट्रेड युनियन नरहने तर सेवा शर्तसम्बन्धी विषय वा पीरमर्का तथा गुनासो सुनुवाइका लागि प्रभावकारी व्यवस्था गरिने उल्लेख छ।
राजनीतिक दल, दलको भ्रातृ सङ्गठन, जनवर्गीय सङ्गठन वा राजनीतिक दलसँग आबद्ध सङ्गठनको सदस्यता लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बनेमा भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गरिने विधेयकमा प्रस्ताव गरिएको छ।
यस मस्यौदामाथि सरोकारवाला निकाय, कर्मचारी तथा आमनागरिकबाट सुझाव संकलन गर्ने उद्देश्यका साथ सरकारले सूचना जारी गरेको छ। सूचनाअनुसार, प्रकाशन भएको मितिले सात दिनभित्र आफ्नो राय-सुझाव पेश गर्न आग्रह गरिएको छ।
