प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फोन गरेको भन्दै दैलेखका एक सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ वीरेन्द्रचोक घर भई अहिले काठमाडौँ बस्ने २२ वर्षीय खड्का पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
खड्का प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बोलेको भन्दै दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ का वडा सचिव कमल भण्डारीलाई टेलिफोन गरेर अमर्यादित भाषामा धम्क्याएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आजै विज्ञप्ति निकालेर खड्कामाथि कडा कारबाही गर्न निर्देशन दिएको जनाएको थियो। खड्काले ‘एउटा सिफारिस’ पत्र बनाइदिन भन्दै शुरूमा आग्रह गरेका र भण्डारीले प्रक्रिया अनुसार हुने बताएपछि उनले अपशब्द बोलेका थिए।

