विदेशमा रहेका नेपाली नागरिकका समस्या तथा गुनासो सम्बोधन गर्न सरकारले ‘मोफा मित्र’ एप ल्याएको छ। परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागले मोबाइल एप ‘मोफा मित्र’ ल्याएको हो । एन्ड्रोइड तथा आईएसओ फोनहरूमा उक्त एप डाउनलोड गर्नुपर्छ ।
विभागका सूचना प्रविधि अधिकृत नविनकुमार झाका अनुसार उक्त एपमा विशेषगरी चार वटा फिचर छन्। जसमा खोजतलास तथा उद्धार, शव व्यवस्थापन, बीमा/क्षतिपूर्ति र गुनासो/समस्या रहेका छन्।

त्यस्तै एपमार्फत आफूले गरेको निवेदनको स्थिति कस्तो छ? त्यसमाथिको कारबाही तथा अनुसन्धान कहाँ पुग्यो भन्नेसम्मको अपडेट हेर्न सकिने झाले बताए।

विदेशमा रहेका नेपालीको यकिन तथ्याङ्क नहुँदा उद्धार तथा सहायतामा समस्या भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले विभिन्न सरकारी निकाय, गन्तव्य देश र स्वयम् व्यक्तिबाट प्राप्त विवरणका आधारमा तथ्याङ्क सङ्कलन शुरू गरेको जानकारी दिनुभयो।
विदेशमा रहेका नेपालीले अप्ठेरो अवस्थामा सरकार नजिक रहेको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले ‘मोफा मित्र’ एप विकास गरिएको उहाँले बताउनुभयो। मन्त्री खनालले ‘लिगल नेपाल कन्सुलर जीओभी एनपी’ अनलाइन प्रणाली स्थापना गरी सञ्चालनमा ल्याएको पनि जानकारी दिनुभयो।
उहाँका अनुसार अहिले यो प्रणाली सबै प्रदेश, जिल्ला प्रशासन कार्यालय, विदेशमा रहेका नेपाली नियोग तथा झन्डै ५०० वटा पालिकामा विस्तार भइसकेको छ। चालू आर्थिक वर्षको अन्त्यसम्ममा सबै ७ सय ५३ वटै पालिकामा सेवा विस्तार गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ।
