नर्वेसँगको खेलमा पुनरागमन जीत निकाल्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
आज बिहान अमेरिकाको मियामी रङ्गशालामा भएको खेलमा इंग्ल्यान्डले नर्वेलाई २–१ गोलले हरायो। इंग्ल्यान्डको जीतमा दुवै गोल जुड बेलिङ्घमले गरेका छन्। खेलको पहिलो हाफको ३६औँ मिनेटमा नर्वेका एन्ड्रियस इस्लेअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर इंग्ल्यान्डका जुड बेलिङ्घमले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
दोस्रो हाफमा सात मिनेट इन्जुरी समय दिइएको थियो। निर्धारित ९०मिनेटमा कुनै टोलीले थप गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको ९३ औँ मिनेटमा बेलिङ्घमले इंग्ल्यान्डका लागि दोस्रो गोल गरे।
इंग्ल्यान्ड अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको विजेतासँग खेल्नेछ। इंग्ल्यान्ड विश्वकप इतिहासमा चौथोपटक सेमिफाइनलमा पुगेको हो। सन् १९६६ मा च्याम्पियन बनेको इंग्ल्यान्ड सन् १९९० र २०१८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। सन् २०२२ मा भने क्वार्टरफाइनलमा रोकिएको थियो।
