चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै धनगढी पुगेर अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सेती प्रादेशिक अस्पताल लगिएको छ।

डा. केसीको रगतमा चिनीको मात्रा घटेर ५० पुगेको र रक्तचापमा पनि उतारचढाव देखिएपछि डाक्टरको सल्लाहमा उनलाई अस्पताल लगेको केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिनुभयो।

डा. केसीविरुद्ध स्थानीयवासीले भने विरोध प्रदर्शन गरिरहेका छन्। अनशन स्थलमै पुगेर उनीहरूले तत्काल अनशन तोड्नुपर्ने दबाव दिँदै नाराबाजी गरेका हुन्। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउनै लाग्दा डा. केसीलाई प्रयोग गरेर स्वार्थ समूहले अवरोध सिर्जना गर्न खोजेको स्थानीयवासीको आरोप छ। 

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आवाज उठाउँदै आएका अभियन्ता डा. केसीले सरकारले विगतका सम्झौता र आफ्ना मागहरूप्रति बेवास्ता गरेको भन्दै बिहीबारदेखि कैलालीको धनगढीमा उनले अनसन शुरु गरेका हुन्।

बुढौली उमेर त्यसमाथि एक महिना अघि मात्रै खुट्टाको जटिल शल्यक्रिया गरेका केसीको स्वास्थ्य अवस्था यसपटक अनशन सुरु गरेको ३ तीनमानै जटिल बनेको हो। २४ औँ सत्याग्रह आज तेस्रो दिन हो।