सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग सरकारको ७ बुँदे सहमति भएको छ।
गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता घटनास्थल पुगेर पीडित परिवारसँग छलफल गरेपछि सहमति भएको हो।
साउन १४ गते भएको सहमति पत्रमा गृह मन्त्रालयका तर्फबाट गृहमन्त्री र मृतकका अभिभावकबीच हस्ताक्षर भएको छ। सहमतिअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई १०/१० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाही अघि बढाउने, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिसहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति पनि भएको छ ।
यसअघि दुवै मन्त्रीले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक उपचारका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।
सरकार र पीडित परिवारबीच सहमति भएपछि मृतक द्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहताको आज दिउँसो २ बजे अन्त्येष्टि गरिने भएको छ।

