शुक्रबार बिहान २ बजे मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीकाे सरकारी निवासमा सुतिरहेको अवस्थामा ढुंगामुढा र आगजनी भएको छ। इलाका प्रहरी कार्यालयनजिकै रहेको प्रमुख प्रशासकीय अधिकृत निवासमा आगजनी गरिएको हो ।

आगजनी गरिएको भन्ने खबर पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। आगलागी केहीबेरमै नियन्त्रणमा आएको थियो। दोस्रो तलामा बस्ने उनको कोठामा कसरी आगजनी गरियो भन्ने पनि खुलिनसकेको प्रहरीले जनाएको छ।

अज्ञात व्यक्तिले राति आक्रमण गरेर हत्या प्रयास भएकाे र घटना कसले गर्‍यो भन्ने यकिन नखुलेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउछन्। ‘यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘मैले प्रहरीलाई जानकारी गराएको छु। प्रहरीले अनुसन्धान गरेर घटनाबारे पत्ता लगाउला।’

‘हामीले अनुसन्धान टोली जिल्लाबाट पनि खटाएका छौँ,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले भने, ‘इलाका प्रहरी कार्यालयले पनि घटनाबारे अनुसन्धान गरिरहेको छ।’

भण्डारीका अनुसार अज्ञात समूहले ढुंगा प्रहार गर्दा झ्यालका सिसाहरू फुटेका छन् । त्यस्तै निवासमा रहेका पर्दा, किताब, बेड, ल्यापटप लगायतमा क्षति पुगेको छ।