काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनाउने भएको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पार्टी सांसदीय दल कार्यसमितिको बैठकले शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीको तर्फबाट प्रस्तावित अध्यक्ष पदका उम्मेदवार शर्माको पक्षमा मतदान गराउनका लागि अन्य प्रतिपक्ष दलहरूसँग पनि छलफल गर्ने निर्णय बैठकले गरेको छ ।
संसदीय दलकी सचेतक सुशीला थिङले भन्नुभयो, ‘हामीले राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार युवराज शर्मालाई प्रस्ताव गर्ने निर्णय गरेका छौं। उम्मेदवारीसँगै हामीले प्रतिपक्षमा बसेका अन्य पार्टीसँग पनि कोअर्डिनेशन, सरसल्लाह गरेर जाने भन्ने निर्णय भएको छ।’
यसअघि काँग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई सभाको अध्यक्ष बनाउने योजनासहित राष्ट्रियसभा सदस्य बनाएको थियो। तर माओवादी केन्द्रले सो पद आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेपछि सत्तारुढ गठबन्धन टुटेको थियो। राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचन यही फागुन २९ गत मंगलबार हुनेछ।
