काठमाडौं । भारत निर्वाचन आयोगले १८औं लोकसभा निर्वाचनका अप्रिल १९ अर्थात् वैशाख ७ गते देखि सुरु हुने शनिबार घोषणा गरेको छ । १७औं लोकसभाको कार्यकाल आगामी असार २ गते अर्थात् १६ जुनमा सकिँदैछ ।
‘हामी प्रजातन्त्रलाई देशको हरेक कुनामा लैजान्छौँ,’ चुनावी मिति घोषणा गर्न नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले भने, ‘हामी विश्वभर प्रजातन्त्रको ज्योति बनेर राष्ट्रिय निर्वाचन गराउने वाचा गर्दछौँ।’
राष्ट्रिय निर्वाचनमा अप्रिल १९ देखि जुन २१ सम्म सात चरणमा मतदान हुनेछ। देशभरका मतपत्रहरू एकैपटक सङ्कलन गरेर जुन ४ मा मतगणना गरिनेछ र सामान्यतया सोही दिन नतिजा घोषणा गरिनेछ।
पहिलो चरणमा आगामी १९ अप्रिल अर्थात् वैशाख ७ गते २१ राज्यका १ सय २ सिटका लागि निर्वाचन हुनेछ । दोस्रो चरणमा वैशाख १४ गते नेपालसँग सीमा जोडिएका बिहार, उत्तरप्रदेश तथा पश्चिम बंगालसहित १३ राज्यका ८९ सिटमा मतदान हुनेछ ।
यस्तै, तेस्रो चरणमा वैशाख २५ गते १२ राज्यका ९४ सिटमा, चौथो चरणमा वैशाख ३१ गते १० राज्यका ९६ सिटमा, पाँचौं चरणमा जेठ ७ गते ८ राज्यका ४९ सिटमा, छैटौं चरणमा जेठ १२ गते ७ राज्यका ५७ सिट र सातौं चरणमा जेठ १९ गते ८ राज्यका ५७ सिटमा चुनाव हुनेछ ।
६ हप्ताभन्दा बढी समय सञ्चालन हुने निर्वाचनमा कूल ९६ करोड ८० लाख मतदाताले मतदान गर्न योग्य छन्, जसमा ४७ करोड १० लाख महिला र ४९ करोड ७० लाख पुरुष मतदाता छन् ।जसमध्ये १ करोड ८९ लाख मतदाताले पहिलोपटक मतदान गर्नेछन् भने २० देखि २९ वर्षसम्मका युवा मतदाताको संख्या १९ करोड ७४ लाख रहेको जनाइएको छ ।भारतमा ८८ लाख ४० हजार मतदाता शारीरिक रुपमा अशक्त छन् भने ८५ वर्षभन्दा माथिका मतदाताको संख्या ८२ लाख छ । ८५ वर्षभन्दा बढी उमेरका मतदातालाई घरमै मत दिने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार चुनावमा एक करोड ५० लाख मतदान कर्मचारीसहित १० लाखभन्दा बढी मतदान केन्द्र सञ्चालनमा रहनेछ।
भारतमा सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन एनडीए र विपक्षी कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुनेछ भने सीपीएम, बहुजन समाज पार्टी, नेसनल्स पिपल्स पार्टी र आम आदमी पार्टी मैदानमा छन् । एनडीएले प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीलाई तेस्रो पटक अगाडि सारेको छ भने इन्डिया गठबन्धनले अहिलेसम्म कसैलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेको छैन ।
