काठमाडौं । फ्रान्सको शीर्ष डिभिजन लिगमा नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मेलित टोली एन अभान्ट ग्वेंगाम्पले महत्वपूर्ण जित हासिल गरेको छ ।
ग्वेंगाम्पले लिलविरुद्ध २–० को जित हासिल गर्दा एन्टोनी स्टारोवा र सावित्राले एक/एक गोल गरे । एन्टोनी स्टारोवाले खेलको ५२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । ८६ औं मिनेटमा मैदान प्रवेश गरेकी नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले इन्ज्युरी समयको पहिलो मिनेटमा विपक्षीबाट सहकर्मीले खोसेको बललाई अघि बढाएर सुन्दर गोल गर्न सफल भएकी हुन् ।

वाफ च्याम्पियनसिपको फाइनल गुमाएर लिगको खेल खेल्न पुगेकी साम्बाले बेन्चबाट मैदान प्रवेश गर्दै २-० को जितमा गोल गरेकी हुन् । यो लिगमा सावित्राको यो पहिलो गोल हो । जितसँगै ग्वेंगाम्प अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ ।
