काठमाडौं – एन्फा कम्पलेक्समा सम्पन्न साफ यू १६ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको दोस्रो खेलमा आयोजक नेपालले भुटानलाई पराजित गरेको छ । नेपालले पहिलो हाफमा नै ३ गोल गरेको हो । नेपालका लागि पुजा गिरी, भुमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले १-१ गोल गरि यस खेलमा नेपाल ३-० ले विजयी भएको हो ।

यससॅगै नेपालको ३ अंक भएको छ । समान ३-३ अंक जोडेपनि गोल अन्तरमा भारत पहिलो, बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।

नेपालका लागी पुजा गिरीले १४ औं मिनेटमा नेपालले अग्रता दिलाएकी थिइन् । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक केल्जाङ वाङमोले रोक्न नसक्दा नेपाल अग्रता लिएको हो । त्यसको ४ मिनेटपछि नै कप्तान भुमिका बुढाथोकीले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी हुन् ।

भुटानका तर्फबाट २८ औं मिनेटमा छोर्तेन जाङमोको प्रहारमा गोलरक्षक झरना डुम्राकोटीले उत्कृष्ट बचाउ गर्दै २-० को अग्रता जोगाएकी थिइन् । ३१ औं मिनेटमा नेपालका लागी ग्यान्सु डोल्मा लोले २५ यार्ड टाढाबाट गरेको फ्रिकिक सिधै गोल भयो । गोलरक्षक वाङमोले फ्रिकिकमा हातको टुप्पामा लागेपनि गोलले पोष्टको जाली चुमेको हो ।

३८ औं मिनेटमा भुटानले गोल फर्काउने अवसरको सदुपयोग गर्न सकेन । पेनाल्टी क्षेत्रभित्र ह्यान्ड भएपछि प्राप्त पेनाल्टीमा भुटान सफल भएन । छिरिङ ल्हामोको प्रहार गोलरक्षक झरना डुम्राकोटीले बॅायातर्फ डाइभ दिएर विफल पारिन् ।

दोस्रो हाफमा भने दुवै टिमले मौका बनाए पनि गोल भने हुन सकेन ।

पहिलो खेलमा नेपाल बंगलादेशसॅग २-० ले पराजित भएको थियो । भारतले भुटानलाई ७-० ले हराएको थियो । मंगलबार भारत र बंगलादेश खेल्नेछन् । शीर्ष दुई टोलीबीच फाइनल आइतबार हुनेछ ।