काठमाण्डाै – १६ वर्षमुनिको महिला साफ च्याम्पियनशिपको उपाधि भारतलाई हराउँदै बङ्गलादेशले जितेकाे छ ।सातदोबाटोमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको परिसरमा आज भएकाे फाइनल खेलमा बङ्गलादेशले भारतलाई पेनाल्टी शुटआउटमा ३–२ गाेलले हराएको हो ।

निर्धारित ९० मिनेटमा दुवै टाेलीले १–१ गाेल गरेपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे थियाे । खेलकाे ४ मिनेटमा भारतका तर्फबाट अनुष्का कुमारीले गाेल गरी अग्रता दिलाएकी थिइन् । तर खेलकाे ७० मिनेटमा बङ्गलादेशले उपहार गाेल पाएपछि खेल १–१ काे बराबरीमा पुगेकाे हाे ।

बङ्गलादेश समूह चरणका ३ वटै खेल जितेर ९ अङ्कसहित फाइनलमा पुगेको थियाे भने भारत उति नै खेलमा ६ अङ्कसहित फाइनलमा पुगेकाे थियाे ।

यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा भएको हो । प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश सहभागी थिए ।