त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज नेपालले पपुवा न्युगिनीसँग बिहान ११:४५ बजे हङकङको मिसन रोड ग्राउन्डमा खेल्दैछ। रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिममा कुशल भुर्तेल, बिनोद भण्डारी, गुल्सन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम आकाश चन्द र अविनाश बोहरा रहेका छन्।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। खेल रद्द भएपछि नेपाल र हङकङले एक/एक अंक बाँढेका थिए।

त्यसअघि मंगलबार नै खेलिएको पहिलो खेलमा नेपालले पीएनजीलाई ८५ रनले पराजित गर्दै नेपाल फाइनल पुगेको हो। टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । 

जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १६.१ ओभरमा अलआउट हुनुअघि एक सय १३ रनमात्र बनाउन सकेको थियो । नेपाली टोलीको जितमा कुशल भुर्तेलले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक (५९ रन) बनाए भने चार विकेट पनि लिएका थिए । कुशल भुर्तेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गर्ने ब्याट्सम्यान पनि बनेका छन् । २७ वर्षीय कुशलले हालसम्म ३६ टी–२० अन्तर्राष्ट्रिय खेल्दै एक शतक र आठ अर्धशतकको मद्दतले कुल एक हजार आठ रन बनाएका छन् ।

पीएनजीविरुद्धको खेलमा नेपालका अर्का ब्याट्सम्यान सन्दीप जोराले पनि ५६ रन बनाएका थिए । २२ वर्षीय सन्दीपले टी-२० अन्तर्राष्ट्रियमा बनाएको यो दोस्रो अर्धशतक हो ।