काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकता गर्ने सहमति भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने निर्णय गर्नुका साथै एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरेको छ ।
बैठकमा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री सहित दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङ सहभागी थिए । त्यस्तै नेपाल समाजवादी पार्टीबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए ।
नेसपाका अर्का अध्यक्ष बाबुराम भट्टराई भने पार्टी एकताको पक्षमा छैनन् ।
पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल समेत गठन गरिएको छ । कार्यदलमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव छन् ।

