भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिका वडा नं. ७ पात्लेपानीमा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईका अनुसार केदार कार्कीका ५ वर्षका छोरा प्रनिश कार्की र रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस कार्कीको मृत्यु भएको हो । आगोले खेलिरहेका बच्चालाई भेटेको र उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएकाले थप विस्तृत विवरण आउन बाँकी रहेको सूचना अधिकारी राईले जानकारी दिए ।
यस्तै, भोजपुरको टक्सारमा जंगलबाट सुरु भएको आगो बस्तीमा पस्दा ८ घर पूर्ण रूपमा जलेका छन् । भोजपुर नगरपालिका-१२, टक्सारको मालेबाँसस्थित जंगलमा लागेको आगो बस्तीमा पस्दा घर-गोठ जलेको हो ।
