काठमाडौं । मोरङको विराटनगरमा एक स्टाफ नर्स मृत अवस्थामा फेला परेकी छन्। विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सको शव फेला परेको हो ।

सिरहाको फलकाहकट्टी घर भएकी २२ वर्षीय नर्स चन्द्रिकाकुमारी दासको शव शुक्रबार मध्याह्न १२ बजे उनी डेरा गरेर बसेकै घरको बाथरुममा फेला परेको थियो । उनको हत्या भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।

दास विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडिदेखि डेरा गरी बस्दै आएकी थिइन् । उनको घाँटी, अनुहारलगायत शरीरका विभिन्न स्थानमा धारिलो हतियारले काटेको चोट देखिएको मोरङ प्रहरीले जनाएको छ ।

‘प्रेममा उत्पन्न खटपट एवं सम्बन्धमा देखिएको दरार हत्याको कारण हुनसक्ने देखिन्छ,’ प्रहरी स्रोतले जानकारी दिएको छ । मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले भने घटनाको अनुसन्धान भइरहेको भन्दै हत्याको कारणबारे केही बताउन चाहेनन् । ‘पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि अरू विषय खुल्नेछ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *