काठमाडौँ । रुसस्थित क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या १ सय १५ जना पुगेको छ । उक्त हलमा गएराति भएको आक्रमणमा कम्तिमा १ सय १५ जनाको ज्यान गएको र ९० जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । रुसी मानव अधिकार आयोगले यसलाई ‘आतंकवादी हमला’ भनेको छ ।

गएराति एउटा कार्यक्रम भइरहेको हलभित्र पसेर आक्रमणकारीले अन्धाधुन्ध गोली बर्साउनका साथै जताततै पेट्रोल बम प्रहार गरेका कारण आगलागी भएको जनाएको छ। भवनमा आगलागी भएपछि धेरै मानिस भित्र फसेको अनुमान छ । घटनास्थलमा पुगेका सुरक्षाकर्मीले बेसमेन्टबाट करिब एक सय जनाको उद्धार गरेका थिए ।

आरआईए नोवोस्ती समाचार एजेन्सीका अनुसार कम्तीमा तीन आक्रमणकारी हलमा प्रवेश गरेका थिए । आक्रमणकारीले रुसको गुप्तचर निकायले अहिलेसम्म १८ जना पक्राउ परेका र ४ जना घटनामा प्रत्यक्ष संलग्न रहेको दाबी गरेको छ । आज रुसभरी हुने सबै सार्वजनिक कार्यक्रम स्थगित भएका छन् । अमेरिकाले यसअघि नै रुसलाई आक्रमण हुन सक्ने चेतावनी दिए पनि रुसले बेवास्ता गरेकाले ठूलो आतंककारी हमला भएको जनाएको छ ।

इराक र सिरियामा सक्रिय रहेको आईएसआईएल समूहले आफ्नो टेलिग्राम च्यानलमार्फत घटनाको जिम्मेवारी लिएको अल जजिराले जनाएको छ ।

नेपाल सरकारले आतंकवादी हमलाको निन्दा गर्दै मृतकमा श्रद्धाञ्जली व्यक्त गरेको छ । यो दुःखमा नेपाल सरकार रुसी सरकार र नागरिकसँगै रहेको परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, चिनियाँ राष्ट्रपति सि जिनपिङ, फ्रान्सका राष्ट्रपति इमानुुएल म्याँक्रो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समवेदना सन्देश पठाउनुभएको छ । सन्देशमा आक्रमणको निन्दा गर्दैै ज्यान गुमाएकालाई श्रद्धाञ्जली व्यक्त गर्दै आतंकवाद विश्वकै साझा चुनौतीको रुपमा रहेको र यसविरुद्ध एक भएर लड्नुपर्ने बताएको बीबीसीको खबरमा उल्लेख छ ।