काठमाडौँ । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट १७ जना युवा एकपछि अर्को गर्दै हामफालेका छन् । होली खेलेर आएका हाम फाल्ने ती युवाहरुमध्ये एक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कर्णाली पुलबाट नदीमा हाम फालेर लम्कीचुहा नगरपालिका–३ चिसापानीका करिब ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका हुन् । सो समूहले नदीमा डाइभ हान्दा एकजना साथी बेपत्ता भएको जानकारी प्रहरीलाई दिएको हो ।

सोमबार बेलुकीसम्म खोजी गर्दा पनि नभेटिएपछि खोजी कार्य रोकिएको थियो । प्रहरीले गोताखोर प्रयोग गरेपनि बेपत्ता भएका शाही नभेटिएको जनाएको छ । मंगलबार बिहानबाट पुनः खोजी सुरु गरिने प्रहरीले जनाएको छ।

युवाहरूले हामफालेको र डुंगाबाट खोजी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। सोमबार दिउँसो ती युवाहरूले कर्णाली नदीमा हाम फालेका थिए ।