काठमाडौँ । आयरल्याण्ड ‘ए’ सँगको दोस्रो टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ ४० रनले पराजित भएको छ । आयरल्याण्ड–उल्भ्सले दिएको २ सय २५ रनको लक्ष्य पाएको नेपालले १७.५ ओभरमा १ सय ८४ रन मात्र बनाउन सक्यो ।

नेपाल ‘ए’ का देव खनालले ४७, विनोद भण्डारीले २६, लोकेश बमले २५ योगदान दिए । पावरप्लेअघि ८७ रन बनाएर उत्कृष्ट सुरुवात गरेको नेपाल ‘ए’ का मध्यक्रममा बासिर अहमदले २३ बलमा २७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले खासै ठुलो योगदान दिन सकेनन् । आयरल्याण्डका लागी फियोन ह्याण्ड र थोमस मोयसले दुई-दुई विकेट हात पारे ।

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको आयरल्यान्ड उल्भ्सले २० ओभरमा छ विकेट गुमाएर दुई सय २४ रन बनायो । आयरल्यान्ड–उल्भ्सका कप्तान निल रकले सबैभन्दा ७१ रन बनाए । नेपालका लागि सागर ढकालले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र ३३ रन खर्चिए । त्यस्तै कमल ऐरी र पवन शर्राफले एक–एक विकेट लिए ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल आयरल्याण्डसँग २१ रनले पराजित भएको थियो ।  लोकश बमको शतकीय पारिका बाबजुद नेपाल पराजित भएको थियो । आयरल्यान्ड–उल्भ्सले नेपाल ‘ए’ सँगको तीन खेलको टी–२० शृङ्खला एक खेल अगावै जितेको छ । शृङखलाको तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार हुनेछ ।

टी–२० शृङ्खलापछि यी दुई टोलीले आउने बुधवारदेखि तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछन् ।