काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्सलाई २१ रनले पराजित गरेको छ । शनिबार भएको खेलमा लखनउले प्रस्तुत गरेको २ सय रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७८ रन मात्र बनाउन सक्यो ।
ओनपनरद्वय कप्तान शिखर धवानले ५० बलमा ७० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । जोनी बेयरस्टोले ४२ र लियाम लिभिङस्टोनले १७ बलमा २८ रन बनाए । प्लेयर अफ द म्याच घोषित मयंक यादवले घातक बलिङ गर्दै पञ्जाबलाई जितबाट रोक्न सफल भए । यादवले ४ ओभरमा पञ्जाबका महत्त्वपूर्ण तीन विकेट लिदै मात्र २७ रन खर्चेका थिए । मोहसिन खानले पनि २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एकसय ९९ रन बनाएको थियो । क्विन्टन डि ककले सर्वाधिक ५४ रन बनाए । उनले ३८ बलमा ५ चौका र २ छक्का प्रहार गरे । कप्तान निकोलस पूरन २१ बलमा ४२ रन ल्याइ आउट भए । कुर्नाल पाण्ड्याले २२ बलमा ४३ रन जोडे । पञ्जाबका लागि साम करनले ३ तथा अर्शदीप सिंहले २ विकेट हात पारे ।
यो सिजन लखनउको प्रतियोगितामा पहिलो जीत हो भने ३ खेलमा पञ्जाबको यो दोस्रो हार हो । आईपीएल क्रिकेटमा आज नेपाली समय अनुसार दिउँसो पौने ४ बजे गुजरात टाइटन्स र सनराईजर्स हैदराबाद तथा बेलुका पौने ८ बजे दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्स खेल्दैछन् ।
