काठमाडौँ। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार माओवादी संसदीय दलका नेता महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा दिएका थिए।

बिहीबार सत्ता साझेदार दलहरूबीच दाङको देउखुरीमा बसेको बैठकले मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेस गर्ने निर्णय गरेको थियो। उनलाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन छ । महराले शुक्रबार मात्र बहुमत (४८) सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

उनको शपथ भने आइतबारमात्रै गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।