काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले हराएको छ । राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले दिएको १६६ रनको लक्ष्य हैदराबादले चार विकेट गुमाएर ११ बल खेल्न बाँकी हुँदै भेटेको हो।


हैदरावादको जितका लागि एडेन मार्करामले अर्धशतकीय इनिङ खेले । उनले उनले ३६ बलमा चार चौका र एक छक्काको मद्दतमा ५० रन बनाएका हुन्। आक्रामक ओपनिङ गरेका अभिषेक शर्माले १२ बलमा ३७ रन बनाउँदा सम्हालिएर खेलेका टेभिस हेडले २४ बलमा ३१ रन जोडे। शाहबाज अहमदले १८ रन जोड्दा नितिश कुमार रेड्डी र हेनरिक क्लासेन नटआउट १४ र १० रनमा समेटिए। चेन्नईका मोइन अलीले दुई तथा महेश थिक्सना र दीपक चाहरले एक/एक विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो । उसका शिवम दुबेले २४ बल खेलेर २ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ४५ तथा अजिंक्या रहानेले ३५ रन बनाए । त्यस्तै कप्तान ऋतुराज गायकवाड २६, डेरिल मिचेल १३ र रचिन रविन्द्र १२ रनमा आउट हुँदा रविन्द्र जडेजा ३१ र महेन्द्रसिंह धोनी १ रनमा नटआउट रहे। हैदरावादका लागी भुवनेश्वर कुमार, शाहबाज अहमद, थांगारासु नटराजन र जयदेव उनादकटले १–१ विकेट लिए।

जितसँगै हैदराबादको चार खेलमा चार अङ्क भएको छ । हैदराबाद पाँचौ स्थानमा छ । त्यस्तै चार खेलमा चार अङ्क नै रहेको चेन्नई तेस्रो स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे जयपुरमा शुरु हुनेछ ।
