काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिजमा अन्तिम खेलमा हार ब्यहोरेको छ। शुक्रबार खेलिएको लिग चरणको अन्तिम खेलमा बरोडा क्लबले नेपाललाई ३७ रनले हराएको हो। नेपालले पहिलो खेलमा बरोडालाई २७ रनले पराजित गरेको थियो।
टस जिती पहिले ब्याटिङको निणर्य लिएको बरोडाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १८.५ ओभरमा अलआउट हुनुअघि एक सय १९ रनमात्र बनाउन सक्यो।
नेपालका लागि सन्दीप जोराले ४३ बलमा ५६ रन बनाए। विवेक यादबले टोलीको खातामा १७ रन थपेका थिए। ओपनर कुशल भुर्तेल पनि १६ रन बनाउँदै आउट भए अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन्।
त्यसअघि बरोडका लागि शास्वत रावतले ३१ र ध्रुव पटेलले २९ रन बनाएका थिए। अमित पासीले २६ रन बटुलेका थिए। बरोडाको खातामा मोहित मोंगियाले पनि २२ रन थपेका थिए। बरोडाले अतिरिक्त रुपमा पनि १० रन पाएको थियो।
नेपाली बलर गुलसन झा र करण केसीले दुई/दुई विकेट लिए। आकाश चन्द, ललित राजवंशी र प्रतिस जिसी पनि एक/एक विकेट हात पारेका थिए।
नेपाल पराजित भए पनि उपाधिका लिग शुक्रबार गुजरातसँग खेल्नेछ। नेपालले आजको खेलमा चार मुख्य खेलाडीलाई विश्राम दिएको थियो। टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले कप्तान रोहित पौडेलसहित सोमपाल काकी, अविनास बोहोरा र आशिफ शेखलाई विश्राम दिएका थिए।
नेपाली टोली यसअघि नै लिग चरणमा लगातार तीन खेल जित्दै फाइनलमा पुगिसकेको थियो। नेपाली टोलीले लिग चरणको आफ्नो पहिलो खेलमा गुजरातलाई आठ विकेटले हराएको थियो। दोस्रो खेलमा नेपालले बरोडालाई २७ रनले पराजित गरेको थियो। लिग चरणको आफ्नो तेस्रो खेलमा नेपालले गुजरातलाई आठ रनले हराएको थियो।
नेपाली टोलीले अब आइतबार हुने श्रंखलाको फाइनल खेलमा गुजरातको सामना गर्नेछ। यसअघि लगातार तीन खेलमा पराजित भएको बरोडा भने लिग चरणको अन्तिम खेलअगावै उपाधिबाट बाहिरिइसकेको थियो।
एसीसी प्रिमियर कपको दोस्रो संस्करण अप्रिल १२ देखि २१ तारिखसम्म आयोजना हुँदैछ। एसीसी प्रिमियर कपमा सहभागी हुन नेपाली टोली भारतबाटै ओमान प्रस्थान गर्ने कार्यक्रम रहेको छ। नेपाल एसीसी प्रिमियर कपको साविक विजेता पनि हो।
