काठमाडौँ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एमाले) का गण्डकी प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार आइतबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

अधिकारीले एमालेका २२, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे सहित ३१ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका थिए । ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्थ्यो ।

अधिकारीले मुख्यमन्त्रीकाे शपथ लिएलगत्तै सत्ता साझेदार माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरु (दीपक मनाङे) लाई विनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरेर शपथ दिलाएका छन् ।

नेपाली कांग्रेसले भने मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ । राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताउनुभयो । एमाले, माओवादी, स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे र सभामुखलाई समेत गणना गरिएकाले अधिकारीको दावी असंवैधानिक रहेको पत्रमा उल्लेख छ ।

यसअघि विश्वासको मत नपाउने अवस्था देखिएपछि कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत २१ गते राजीनामा दिनुभएको थियो । २१ गते नै प्रदेश प्रमुख भट्टले सात दिनको समय दिएर बहुमतको सरकार दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।