बुटवल– लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । वि.स. २०३७ सालदेखि २०३९ सम्म प्रावि शिक्षक उनी वि.स. २०३५ र २०३६ सालको विद्यार्थी आन्दोलनमा सङ्लग्न भई राजनीतिमा प्रवेश गरेका हुन् । उनले विसं २०४४ देखि २०५० सालसम्म मावि शिक्षकका रुपमा पनि काम गरेका थिए ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि आज शपथग्रहण गरेका महरा विसं २०७९ मङ्सिरमा सम्पन्न संसदीय निर्वाचनमा रोल्पा क्षेत्र नं १ (१) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित भएका थिए । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रहेका महरा गतवर्ष एमाले संसदीय दलका नेता लीला गिरी नेतृत्वको प्रदेश सरकारमा लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रीको जिम्मेवारीमा रहेका थिए ।

शुक्रबार मुख्यमन्त्री नियुक्त भएका जोखबहादुर महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएपछि तीन जनालाई मन्त्री नियुक्त गरेसँगै पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद बनेको हो । महरासँगै नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्य र जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर यादव तथा माओवादी केन्द्रका सांसद दिपेन्द्र पुनले मन्त्री पदको शपथ गरेका छन् । नवनियुक्त मन्त्रीहरूलाई अहिले मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन ।

बाँकी मन्त्रीहरु मुख्यमन्त्रीले विश्वासको मत लिएपछि नियुक्त गरिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । केन्द्रीय सत्ता समीकरण फेरबदल भएका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।