काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराईजर्स हैदराबादले पञ्जाब किंग्समाथि रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रनमा समेटियो ।

पञ्जाबका शशांक सिंहले सर्वाधिक ४६ रन जोडे । यस्तै, आशुतोष शर्माले ३३, सैम करनले २९, सिकन्दर राजाले २८, जितेश शर्माले १९ तथा शिखर धवनले १४ रन बनाए । हैदराबादका भुवनेश्वर कुमारले दुइ तथा प्याट कमिन्स, नटराजन, नितिश रेड्डी र जयदेव उनादकटले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो ।हैदराबादका लागि नितिशकुमार रेड्डीले ६४ रन बनाएका थिए । यस्तै, अब्दुल समदले २५, ट्राभिस हेडले २१, अभिषेक शर्माले १६, शहवाज अहमेदले १४ तथा राहुल त्रिपाठीले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

पञ्जाबका आर्शदीप सिंहले एक्लैले ४ विकेट लिए भने सैम करन र हर्ष पटेलले दुई–दुई तथा कगिसो रबाडाले १ विकेट लिए ।
जितपछि ५ खेलमा ३ जित सहित हैदराबाद ६ अंकसहित पाँचौँ स्थानमा छ भने समान खेल खेलेको पञ्जाब ४ अंकसहित छैठौँ स्थानमा छ ।
आईपीएलमा आज राजस्थान रोयल्स र गुजरात टाईटन्स खेल्दैछन् । जयपुरमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।
