काठमाडौँ। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले कोलकोता नाइट राइडर्सलाई  ७ विकेटले पराजित गरेको छ । गएराति भएको खेलमा कोलकत्ताले दिएको १३८ रनको सामान्य लक्ष्य चेन्नाईले १७.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

चेन्नाईको जितमा कप्तान रुतुराज गाइक्वाडले अविजित रहँदै ५८ बलमा ९ चौका सहित ६७ रन बनाए । त्यस्तै शिभम दुबेले २८ तथा ड्यारिल मिचेलले २५ रन बनाउँदा रचिन रवीन्द्रले १५ रन जोडे । महेन्द्र सिंह धोनी ३ बलमा १ रन बनाउँदै नटआउट रहे । कोलकत्ताका वैभव अरोराले २ तथा सुनिल नरिनले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो  । कोलकत्ताका श्रेयस ऐयरले सर्वाधिक ३४ रन बनाए ।  चेन्नईका तुशार देशपाण्डे र रवीन्द्र जडेजाले समान ३–३ विकेट लिए ।

५ खेलमा ३ जित र २ हार बेहोरेको चेन्नईको ६ अंक सहित चौँथो स्थानमा छ । चौँथो खेलमा पहिलो हार बेहोरेको कोलकत्ता ६ अङ्कका साथ दोस्रो स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज पञ्जाब किंग्स र सनराईजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।